भक्तपुर, साउन २१
एघार वर्षिय निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मारिएका छन । बालक उद्धारको लागि गएको महानगरीय अपराध महाशाखाका प्रहरी टोलीमाथि आक्रमण गरेपछिको जवाफी कार्वाहीमा दुई अपहरणकारी मारिएका हुन ।
प्रहरीका अनुसार अपहरणकारीले गोली चलाएपछि भएको दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो । भक्तपुरको सूर्यबिनायकमा दुवै अपहरणकारी इन्काउन्टरमा परेका हुन । इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोक निवासी अजय तामाङ र नुवाकोट निवास गोपाल तामाङ रहेका छन । दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताउनु भयो ।
उनीहरुले आइतबार नै बच्चाको अपहरण पछि हत्या गरेका थिए । अपहरणकारीले बालककी आमालाई २ पटक फिरौती माग्दै फोन गरेका थिए । पछिल्लो पटक उनीहरुले ४० लाख मागेका थिए । तर, फिरौती आउन नसक्ने देखेपछि आइतबार नै कोठामा लगेर हत्या गरेको र नजिकै लगेर स्थानीय ब्यक्तिको घरमा शव गाडेका थिए । बालकको परिवारसँग चिनजान रहेको र पोल खुल्ने डरले बच्चाको अपहरणपछि हत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।
अपहरणमा परेका बालक पनि सिन्धुपाल्चोककै रहेका छन । प्रहरीका अनुसार अपहरणकारीमध्येका एक आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए । साँझ उनले नै अपहरण गरी लगेका हुन्। घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए ।
अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए । प्रहरीले बालकको सकुशल उद्धारका लागि प्रयाश गरे पनि अपहरणलगत्तै हत्या गरी अभियुक्तहरुले फिरौतीमा गेका थिए । उनीहरुलाई नजिकबाट पच्छ्याइरहेको प्रहरीले पक्राउ गर्न खोज्दा गोली चलाएपछि इन्काउन्टर गरिएको थियो ।